प्रिय Princess,
यतिखेर म जिन्दगीकै विशिष्ट र फरक परिवेशमा उभिएर यो पत्र कोर्दैछु । आशा छ मेरा प्रत्यक शब्द-शब्दलाई, प्रत्यक अक्षर-अक्षरलाई बुझ्छौ भन्ने ।
Princess, हिजो जस्तै लाग्छ त्यस अघि कहिल्यै नटेकेको यो भूमि चार वर्ष अगाडी पहिलो पटक टेकेको । हेर्दा हेर्दै ती चार वर्ष यसरी बिते कि मानौँ मैले चार पटक आँखा झिम्काउन मात्र भ्याएको थिएँ । प्रिय Princess, मलाई अझै पनि याद छ त्यो दिन, जुन दिन छोरालाई डाक्टर बनाउने आमाको सपनालाई लत्याउँदै रामपुर हानिएको थिएँ म । नाम निस्किने कुनै ठेगान थिएन । तर entrance examको एक महिना अघि खल्तीमा दुईवटा हजारका नोट लिई मैले रामपुरमा पाइला टेकेँ ।
प्रिय Princess, काठमाण्डौमा जाडोले गल्लीका कुकुरहरु कुईँ कुईँ कराउन थालिसक्दा पनि त्यतिखेर रामपुरलाई जाडोले छोपिसकेको थिएन । हल्का कुहिरोमा निकै सुन्दर देखिएको थियो मेरो रामपुर । गेटबाट भित्र छिर्ने बित्तिकै देव्रे पट्टि देखिने लिची घारी, डिन अफिस अगाडीको हरियो चउर, अमेरिकन हाईवे र height नापी नापी काटेका जस्ता लाग्ने एउटै उचाइ भएका असोकका बोटहरु... । मन्द हावा लागेर हल्लिएका रुखका पातहरूले मलाई "आइज ! आइज !!" भनेर संकेत गरेका जस्ता लाग्थे । पहिलो भेटमै म त रामपुरसँग पिरती गाँस्न पो थालेछु । लाग्छ, love at first sight भनेको यही हो ।
प्रिय Princess, दुई-तीन दिनको रामपुर बसाईमा नै म 'मेरी' रामपुर प्रति पुरै पागल भई सकेको थिएँ । लाग्थ्यो रामपुर केवल मैरै लागि बनेकी हो । जुन सुकै हालतमा नि मैले नाम निकाल्नै पर्छ, जुन सुकै हालतमा नि मैले 'उन'लाई पाउनै पर्छ ।
प्रिय Princess, 'उनी'सँगको प्रेमले नै मलाई मिहिनेत गरेर पढ्ने प्रेरणा दियो । 'उन'लाई पाउन म जुन सुकै मुल्य चुकाउन नि तयार थिएँ । दिन रात केही नभनी entranceको तयारीमा जुटेँ । साँझपख क्यान्टिनको निकै सस्तो खाना खाइ सके पछि म केही वेर 'मेरी' रामपुरसँग date गर्न निस्किन्थेँ । म बोल्थेँ 'उनी'सँग, मीठा मीठा गफ गर्थेँ, मनका बहहरु पोख्थेँ । हो Princess, 'उनी' मौन रहँदै मेरा भावनाहरु सुन्थिन् । जब चिसो सिरेटो चल्न थाल्थ्यो, तब 'उन'ले "जाऊ गएर पढ । बाँकी गफ भोली है" भनेको जस्तो लाग्थ्यो । म पनि बुझ्झकी बालकझैँ ज्ञानी भएर, लोडसेडिङको समय भएकोले मैनवत्ती बालेर पढ्न थाल्थेँ ।
प्रिय Princess, यसरी नै एक महिनाको समय वित्यो र entrance examको दिन पनि आयो । entranceको दिन रामपुरमा सानो तिनो मेला नै लागेको थियो । म आँत्तिएँ त्यत्तिका धेरै परिक्षार्थी देखेर । तिनीहरु पनि रामपुरसँग पिरती गाँस्न आएका थिए । प्रिय Princess, म किटेर भन्न सक्छु, मैले जतिको चोखो माया 'उनी'सँग अरु कसैले गरेका थिएनन् । "ताक परे तिवारी, नत्र गोतामे" शैलीमा दुनियाँ भरका क्याम्पसलाई प्रेमपत्र लेखेर आएका थिए तिनीहरू । कति त MBBSबाट कयौँ पटक अस्विक्रित भई मेरी रामपुरलाई प्रेम प्रस्ताव राख्न आएका थिए ।
तर Princess, मेरो चोखो माया खेर गएन । entrance दिएकै रात नतिजा प्रकाशित भयो । रामपुरले मलाई चौधौँ स्थानको रोजाई मै राखिन् । हर्षको कुनै सिमा नै थिएन । अब चार वर्ष 'उनी'सँगको जीवनको कल्पनामा डुब्न थालेँ म ।
प्रिय Princess, नयाँ परिवेसमा नयाँ साथीहरूसँग परिचय हुँदै गयो । घरबाट टाढा रहेको अनुभव यो नयाँ परिवेसले कहिले पनि हुन दिएन । आमा, बुबा, भाइ, बहिनी, दाइ, दिदी सबैको माया रामपुरले नै मलाई दिइन् । कक्षाकोठा भित्र स्नातकको degree हासिल गर्ने पाठ सिकिन्थ्यो भने कक्षाकोठा बाहिर जिन्दगीको degree हासिल गर्ने पाठ सिकिँदै गइयो । प्रेम देखि घृणासम्म, मित्रता देखि शत्रुतासम्म, राजनीति देखि कुटनीतिसम्म, गीतसङ्गित देखि खेलकुदसम्म, यात्रा देखि रोमाञ्चसम्म ... 'उन'ले यो चार वर्षमा मलाई केहिको पाठ सिकाउन बाँकी राखिनन् ।
प्रिय Princess, पत्र लामो भयो है ? हेर न, म जीवनको एउटा यस्तो मोडमा उभिरहेको छु कि 'उनी' र 'उन'को मायाको बारेमा लेख्ने हो एउटा महाकाव्य नै बन्छ होला । प्रिय Princess, 'उनी'सँग बिताउने क्षणको उल्टो दिन गन्ती (count down) सुरु भई सकेको छ । 'उनी'विनाका पलहरू अब मैले बिताउनु पर्ने छ । बिछोडका वेला आँशु नखसुन् भनेर मैले अस्ति 'उनी'सँग एकान्तमा मनको बह बिसाएँ । अनि थाह छ Princess, 'उन'ले मलाई के भनिन् ? उनले मलाई यस्तो भने जस्तो लाग्यो, "प्रिय गौरव, आजसम्म मेरो वक्षस्थलमा धेरै प्रेमीहरू आए । तर तिमी जस्तै प्रेम गर्ने भने विरलै भेटेए । तर गौरव, म चहान्छु, अब तिमी मलाई प्रेम गर्न छाडिदेऊ । सिङ्गो जिन्दगी तिम्रो अघि छ । सधैभरी मेरो प्रेममा रत्तिएर तिम्रो जिन्दगी चल्दैन गौरव ।"
Princess, कस्तो निस्ठुरी भएकी होली है मेरी 'उनी' ?
प्रिय Princess, यि चार वर्षमा 'उन'कै मायाले म गतिशिल थिएँ । 'उनी'सँगको बिछोड पछि म पुनः रित्तो रित्तो हुनेछु । यो रित्तोपनलाई पुर्ने क्षमता र हैसियत तिमीसँग मात्र छ । हो Princess, तिमीले नै अब त्यो खालि ठाउँ भर्नु पर्नेछ ।
उही तिम्रो
गौरव


































